सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ सार्वजनिक भएको छ । शाहीले पुस्तकमा आफ्नो जीवनयात्रा, कर्णालीको सामाजिक यथार्थ, ग्रामीण विकासका चुनौती र राजनीतिमा जनतासँग जोडिएर काम गर्दाका अनुभवलाई पनि लिपिबद्ध गरेका छन् ।

काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पुस्तक सार्वजनिक गरे । कार्यक्रममा कांग्रेस महामन्त्री उदयशमशेर राणा, संसदीय दलकी सचेतक वासना थापा, लेखक तथा समीक्षक मनऋषि धिताल, कवि तथा लेखक महेन्द्र अतललगायत साहित्यकार, पत्रकार र राजनीतिकर्मी सहभागी थिए ।

पुस्तकको नाम ‘आधा अध्याय’ भए पनि यसले एउटा व्यक्तिको जीवनको आधा हिस्सा मात्रै प्रस्तुत गरेको छैन । ग्रामीण समाजमा हुर्किएको एक युवाले राजनीतिक चेतना कसरी प्राप्त ग¥यो, संगठन निर्माणमा कस्ता चुनौती सामना ग¥यो, निर्वाचनमा पराजय र विजयलाई कसरी लियो तथा सार्वजनिक पदमा पुगेपछि जनताको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई कसरी प्राथमिकता दियो भन्ने पक्ष पुस्तकका मुख्य आधार भएको साहित्यकार लक्ष्मण बहादुर शाही ।

पुस्तकका सम्पादक तथा प्रकाशनको जिम्मेवारी सम्हालेको कुटीरो रिसर्च सेन्टरका अध्यक्ष महेश नेपालीले शाहीको जीवनानुभवलाई कर्णालीको सामाजिक इतिहास र राजनीतिक अभ्याससँग जोडेर हेर्नुपर्ने बताए । उनका अनुसार पुस्तकमा लेखकले कुनै नयाँ राजनीतिक सिद्धान्त प्रतिपादन गरेको दाबी गरेका छैनन् । बरु आफूले देखेको, भोगेको र समाजबाट सिकेको कुरालाई इमानदारीपूर्वक प्रस्तुत गरेका छन् ।

नेपालीले कर्णालीमा ज्ञान निर्माण र प्राज्ञिक गतिविधिको निरन्तरतामा ऐतिहासिक अवरोध रहेको उल्लेख गर्दै पुस्तक प्रकाशनलाई त्यही क्रमको निरन्तरताका रूपमा व्याख्या गरे । उनका अनुसार पुस्तकमा लेखकले आफ्नो सांस्कृतिक आस्था, समाजमा विद्यमान जातीय तथा सामाजिक विभेद र त्यस्ता अनुभवले आफूभित्र विकास गरेको सामाजिक सेवाको चेतनालाई समेत समेटेका छन् ।

‘आधा अध्याय’को एउटा महत्त्वपूर्ण पक्ष लेखकले आफ्नो राजनीतिक जीवन र सार्वजनिक जिम्मेवारीलाई छुट्टाछुट्टै विषयका रूपमा नहेर्नु हो । पुस्तकमा राजनीतिक यात्रा, संगठन निर्माण, चुनावी अनुभव र जनप्रतिनिधिका रूपमा गरेका कामलाई जीवनका विभिन्न चरणसँग जोडिएको छ ।

राजनीतिमा पदभन्दा ठूलो जनतासँगको सम्बन्ध

कांग्रेस महामन्त्री उदयशमशेर राणाले शाहीसँगको आफ्नो सम्बन्धलाई स्मरण गर्दै उनको राजनीतिक यात्रामा संगठनप्रतिको प्रतिबद्धता र सम्भावना देखेको बताए । तरुण दलको केन्द्रीय अध्यक्ष रहेका बेला जुम्लाको अधिवेशनमा नेतृत्व चयनका विषयमा भएको छलफल सम्झँदै राणाले शाहीलाई सर्वसम्मत नेतृत्वका रूपमा अघि बढाउन आफूले पहल गरेको प्रसंग सुनाए ।

राणाका अनुसार त्यसबेला शाहीलाई व्यक्तिगत रूपमा नचिने पनि जुम्लाका नेताकार्यकर्ताबाट उनको क्षमता र सम्भावनाबारे सकारात्मक प्रतिक्रिया पाएपछि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरेका थिए । त्यही प्रसंगबाट सुरु भएको सम्बन्ध पछिसम्म आत्मीय रह्यो ।

शाहीको राजनीतिक यात्रालाई गाउँको अनुभव र स्थानीय समाजसँगको सम्बन्धबाट बुझ्नुपर्ने राणाको भनाइ थियो । काठमाडौंमा बसेर मात्रै कर्णालीको जीवन, त्यहाँका समस्या र जनताको अपेक्षा बुझ्न नसकिने भन्दै उनले ग्रामीण भूगोलमा हुर्किएका नेताको अनुभव राष्ट्रिय राजनीतिको निर्णय प्रक्रियामा महत्त्वपूर्ण हुने बताए ।

कवि तथा लेखक महेन्द्र अतलले पुस्तकलाई पछिल्लो समय प्रकाशित भइरहेका आत्मकथात्मक कृतिभन्दा फरक पाएको बताए । उनका अनुसार पुस्तकमा आत्मप्रशंसाभन्दा अनुभव र घटनाको प्रस्तुति बढी छ । लेखकले आफूले गरेका कामको सूची मात्रै प्रस्तुत नगरी ती काम गर्ने क्रममा भोगेका परिस्थिति र सिकेका पाठलाई पनि समेटेका छन् ।

अतलले खानेपानी, शिक्षा र स्थानीय विकासका विषयलाई पुस्तकले महत्त्व दिएको उल्लेख गरे । उनका दृष्टिमा ‘आधा अध्याय’ राजनीतिकर्मीका लागि विशेष उपयोगी हुन सक्छ, किनकि यसले संगठन निर्माण, जनतासँगको सम्बन्ध, निरन्तर श्रम र राजनीतिक पराजयबाट सिक्ने प्रक्रियालाई उजागर गर्छ ।

उनले अहिलेको राजनीतिमा चुनाव जित्ने गणितले मात्रै नेतृत्वको मूल्यांकन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै जनतासँग निरन्तर जोडिने र समाजमा काम गर्ने अभ्यासलाई महत्त्व दिनुपर्ने बताए । पुस्तकले राजनीति पद प्राप्त गर्ने माध्यम मात्रै नभई सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया पनि हो भन्ने सन्देश दिने उनको भनाइ थियो ।

कर्णालीलाई केन्द्रसँग जोड्ने प्रयास

लेखक तथा समीक्षक मनऋषि धितालले पुस्तक पढेपछि शाहीको राजनीतिक पहिचानबारे आफ्नो बुझाइ फराकिलो भएको बताए । सार्वजनिक जीवनमा अध्यक्ष र राजनीतिक नेताका रूपमा चिनेका शाहीको संघर्ष, नेतृत्व निर्माण र व्यक्तिगत अनुभवलाई पुस्तकले थप स्पष्ट पारेको उनको टिप्पणी थियो ।

धितालका अनुसार शाहीको नेतृत्व कुनै आकस्मिक उपलब्धि मात्रै होइन । विद्यार्थी जीवन, राजनीतिक आन्दोलन, संगठन निर्माण, निरन्तर मेहनत र स्थानीय समाजसँगको सम्बन्धले उनको व्यक्तित्व निर्माण गरेको देखिन्छ ।

उनले पुस्तकमा लोकतान्त्रिक आन्दोलन, राजनीतिक प्रतिबद्धता र जनतासँग जोडिएर काम गर्ने अभ्यासका प्रसंग उल्लेख गर्दै यसलाई राजनीतिकर्मीका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा लिन सकिने बताए । पुस्तकमा कतिपय घटना र विषयको पुनरावृत्ति तथा अध्यायहरूको संरचनामा सुधार गर्न सकिने ठाउँ भए पनि त्यसले कृतिको मूल महत्त्व घटाउँदैन भन्ने उनको धारणा थियो ।

धितालले कर्णालीबाट प्रकाशित पुस्तकलाई राजधानीकेन्द्रित साहित्यिक अभ्यासको विकल्पका रूपमा पनि व्याख्या गरे । उनका अनुसार काठमाडौंलाई मात्रै ज्ञान र सिर्जनाको केन्द्र मान्ने प्रवृत्तिबाट बाहिर निस्कन यस्ता कृतिले सहयोग गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय