नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नेतृत्वको वैधानिकता र पार्टीको भविष्यलाई लिएर विवाद चर्किरहेका बेला देउवा पक्षका नेता कटकबहादुर शाहीले विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन कांग्रेसको विधानअनुसार नभएको दाबी गर्दै आगामी मंसिरमा हुने नियमित महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनुपर्ने बताएका छन् । शाही नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य र हाल नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधि रहेका छन् । प्रस्तुत छ, कांग्रेसको आन्तरिक विवाद, पार्टी विभाजनको सम्भावना र भावी नेतृत्वका विषयमा केन्द्रित रहेर गरिएको शाहीसँग कुराकानीको सम्पादित अंश ।
विशेष महाधिवेशन हुनुअघि तपाईं युवा नेता गगन थापाको पक्षमा हुनुहुन्थ्यो भन्ने सुनिन्थ्यो । तर अहिले विशेष महाधिवेशन हुँदा उहाँको पक्षमा नलागेर किन अर्को बाटो रोज्नुभयो ?
यो बुझाइ नै गलत हो । गगन थापा नेपाली कांग्रेसका नेता हुनुहुन्छ र उहाँमा पार्टीको भविष्य बोकेको नेताका रूपमा स्थापित हुने सम्भावना पनि छ । तर मेरो असहमति उहाँको व्यक्तित्वसँग भन्दा पनि विशेष महाधिवेशनको एजेन्डा र त्यसलाई अघि बढाइएको प्रक्रियासँग हो ।
कांग्रेसको विधानमा विशेष महाधिवेशनको व्यवस्था छ । तर त्यसका लागि विधानले तोकेको प्रक्रिया पूरा गर्नुपर्छ । मेरो बुझाइमा, देशभरिका महाधिवेशन प्रतिनिधिको ४० प्रतिशत हस्ताक्षरसहित केन्द्रीय समिति वा पार्टीको आधिकारिक कार्यालयमा माग पेस गरी हस्ताक्षरको रुजु गर्नुपर्ने व्यवस्था छ । उक्त प्रक्रिया पूरा नगरी विशेष महाधिवेशन आयोजना गरिएको मेरो आरोप छ ।
त्यसैले मैले उक्त भेलालाई विधानसम्मत विशेष महाधिवेशनका रूपमा स्वीकार गर्न नसकेको हुँ । म कुनै व्यक्तिको पक्ष वा विपक्षमा लाग्नुभन्दा पनि पार्टीको विधान र स्थापित प्रक्रियालाई महत्व दिनुपर्छ भन्ने मान्यता राख्छु ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आइसकेको छ । तपाईंहरू भने आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने भनिरहनुभएको छ । अब कांग्रेस के हुन्छ ? पार्टी दुईवटा हुन्छ कि विभाजन हुन्छ ?
अहिले कांग्रेसभित्र देशभरि अन्योलको अवस्था छ । तर हामीले आगामी मंसिरमा विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्ने तयारी गरिरहेका छौँ ।
शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसले विधानअनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको छ भन्ने हाम्रो दाबी हो । पार्टीको महाधिवेशनको समयसीमा मंसिरसम्म रहेको र त्यसअघि वडा, गाउँपालिका तथा जिल्ला तहका अधिवेशनहरू सञ्चालन भइरहेको अवस्था छ । हाम्रो जानकारीअनुसार अधिकांश स्थानमा अधिवेशन सम्पन्न भइसकेका छन् ।
कांग्रेसको विधानमा सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था रहेकाले आगामी महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने अपेक्षा छ । त्यसैले पार्टीलाई विधानअनुसार अघि बढाउन र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने हाम्रो जोड हो ।
म कांग्रेसका कार्यकर्तालाई पार्टीको आधिकारिकता र महाधिवेशनको प्रक्रियाबारे स्पष्ट हुन आग्रह गर्छु । यस विषयमा भ्रममा नपरी विधान र प्रक्रियाका आधारमा आफ्नो धारणा बनाउनुपर्छ ।
विशेष महाधिवेशन भइसकेपछि तपाईंहरू पनि महाधिवेशनको तयारी गर्दै हुनुहुन्छ । यो पार्टी विभाजनको तयारी हो कि एकताको प्रयास ?
अहिलेको अवस्थामा पार्टीको आधिकारिकतासम्बन्धी विवाद नै मुख्य विषय हो । हाम्रो बुझाइमा, नियमित महाधिवेशन सम्पन्न नभएसम्म शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक हो । तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको अवस्था छ ।
यस विषयमा अदालतबाट छिटो र स्पष्ट निर्णय आएमा विवाद समाधान हुने र पार्टी एकताबद्ध हुने बाटो खुल्न सक्छ । तर विवाद लामो समयसम्म कायम रह्यो भने पार्टी विभाजनको सम्भावना पनि नकार्न सकिँदैन ।
मेरो व्यक्तिगत आकलनमा विभाजनको जोखिम छ । दुवै पक्षले आ–आफ्नो दाबी कायम राखे र अदालतको निर्णयपछि पनि सहमति बन्न सकेन भने कांग्रेस विभाजित हुन सक्छ । यद्यपि यसको अन्तिम निर्णय सम्बन्धित पक्षको व्यवहार, कानुनी प्रक्रियाको परिणाम र आपसी सहमतिमा निर्भर हुन्छ ।
अदालतले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन्छ भन्ने तपाईंको आधार के हो ?
हाम्रो आधार कांग्रेसको विधान र विशेष महाधिवेशन आयोजना गर्दा पूरा गर्नुपर्ने प्रक्रिया हो । मेरो दाबीअनुसार, गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गर्दा विधानले तोकेको प्रक्रिया पूरा गरेको छैन । त्यसैले त्यसबाट चयन भएको नेतृत्वको वैधानिकतामाथि प्रश्न उठेको हो ।
यदि मूल विशेष महाधिवेशन नै विधानसम्मत थिएन भन्ने निष्कर्ष निस्कियो भने त्यसबाट चयन भएको नेतृत्वको वैधानिकतामा पनि प्रश्न उठ्न सक्छ । यही कारणले हामी अदालतले पार्टीको विधान, महाधिवेशनको प्रक्रिया र सम्बन्धित प्रमाणहरू हेरेर निर्णय गर्नेछ भन्ने अपेक्षा राख्छौँ ।
अन्तिम निर्णय अदालतले गर्ने विषय हो । हामीलाई भने विधान र प्रक्रियाका आधारमा आफ्नो पक्षको दाबी स्थापित हुने विश्वास छ ।
अब तपाईंहरूको पार्टी निर्माणको रणनीति के हो? देउवापछि पार्टीको नेतृत्व कसले गर्छ ?
हाम्रो रणनीति कांग्रेसलाई बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादको विचारमा आधारित रहेर बलियो बनाउने हो । पार्टीभित्र अहिले देखिएको विवादलाई केवल नेतृत्वको प्रतिस्पर्धाका रूपमा मात्र हेर्नु हुँदैन । विचार, संगठन र जनतासँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
हामी बीपीको विचारलाई देशभरिका कार्यकर्ता र नागरिकमाझ पु¥याउँदै कांग्रेसलाई सशक्त बनाउने पक्षमा छौँ । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भने त्यो नियमित महाधिवेशनबाट प्रतिस्पर्धा र लोकतान्त्रिक प्रक्रियामार्फत चयन हुनुपर्छ ।
देउवापछिको नेतृत्व कसले लिने भन्ने विषय महाधिवेशनबाट टुंगिनुपर्छ । अहिले नै कुनै व्यक्तिको नाम तोक्नुभन्दा सक्षम नेतृत्व, स्पष्ट विचार र संगठन निर्माणको क्षमताका आधारमा नेतृत्व चयन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो ।
तपाईंले पहिले गगन थापाको समर्थन गरेको भनिन्थ्यो । अहिले उहाँको विपक्षमा उभिनुको कारण के हो ?
म आफूलाई गगन थापाको पक्षधर भनेर चिनाउँदिनँ । म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । कुनै पनि नेताको मूल्यांकन गर्दा उसको विचार, व्यवहार, राजनीतिक चरित्र र पार्टीप्रतिको जिम्मेवारी हेर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
अहिले कांग्रेस कठिन अवस्थामा छ । त्यसैले सबै विषयमा तत्काल व्यक्तिगत टिप्पणी गर्नुभन्दा पनि पार्टीभित्र देखिएका समस्या र तिनका समाधानमा केन्द्रित हुनुपर्छ । तर राजनीतिक नेतृत्वको मूल्यांकन गर्दा नैतिकता, जिम्मेवारी र जनताप्रतिको जवाफदेहितालाई बेवास्ता गर्न सकिँदैन ।
मेरो विचारमा गगन थापाको राजनीतिक कार्यशैलीप्रति प्रश्न उठाउने ठाउँहरू छन् । उहाँले जनमत र राजनीतिक परिस्थितिअनुसार आफ्नो धारणा परिवर्तन गर्ने गरेको मेरो बुझाइ छ । तर यी विषयमा तथ्य र घटनाका आधारमा बहस हुनुपर्छ ।
कांग्रेसको नेतृत्वमा चुनावमा गएको पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विषयमा पनि समीक्षा आवश्यक छ । अहिले पार्टीले भोगिरहेको अवस्थाको जिम्मेवारी नेतृत्वले लिनुपर्छ । पार्टीमा आबद्ध भएकै कारण सबै निर्णय सही छन् भनेर स्वीकार गर्न सकिँदैन । गलत प्रवृत्ति देखिए त्यसको आलोचना गर्न सक्नुपर्छ ।
गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षी दल भएको बताइरहनुभएको छ । तपाईं भने कांग्रेस प्रतिपक्षको हैसियतमा छैन भन्नुहुन्छ । किन ?
संसदीय राजनीतिमा प्रतिपक्षको भूमिका केवल नाम वा पदले मात्र निर्धारण हुँदैन । संसद्मा प्रतिनिधित्व, जनमत, सरकारलाई प्रश्न गर्ने क्षमता र वैकल्पिक नीति प्रस्तुत गर्ने सामथ्र्य पनि महत्वपूर्ण हुन्छन् ।
अहिले कांग्रेसको संसदीय अवस्था र जनमतको अवस्थाबारे गम्भीर समीक्षा हुनुपर्छ भन्ने मेरो धारणा हो । राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा सांसद प्राप्त गरेको र कांग्रेसले अपेक्षाकृत कम सिट पाएको अवस्थालाई हेर्दा कांग्रेसले आफ्नो राजनीतिक भूमिका र संगठनात्मक कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ ।
संसदीय अंकगणितका आधारमा कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहन सक्छ कि सक्दैन भन्ने कुरा सम्बन्धित संवैधानिक र संसदीय व्यवस्थाअनुसार निर्धारण हुन्छ । तर राजनीतिक रूपमा प्रभावकारी प्रतिपक्ष बन्न कांग्रेसले आफ्नो संगठन, जनसमर्थन र वैकल्पिक नीतिलाई बलियो बनाउन आवश्यक छ ।
मेरो आलोचना यही हो—कांग्रेसले अहिलेको अवस्थालाई सामान्य ठानेर अघि बढ्नु हुँदैन । नेतृत्वले परिणामको जिम्मेवारी लिनुपर्छ र पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने योजना ल्याउनुपर्छ ।
अब गगन थापा र देउवा पक्षबीच सहमति हुने सम्भावना कत्तिको छ ? तपाईंको अन्तिम सन्देश के छ ?
सहमतिको सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन । त्यसका लागि दुवै पक्षले पार्टीको विधान, लोकतान्त्रिक अभ्यास र संगठनात्मक एकतालाई प्राथमिकता दिनुपर्छ । अदालतमा पुगेको विषय कानुनी प्रक्रियाबाट टुंगिनुपर्छ र त्यसपछि पनि राजनीतिक संवादको बाटो खुला राख्नुपर्छ ।
मेरो आग्रह के हो भने कांग्रेसका नेता तथा कार्यकर्ताले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टीको भविष्यबारे सोच्नुपर्छ । नियमित महाधिवेशनलाई सफल बनाउने, विधानअनुसार नेतृत्व चयन गर्ने र बीपीको लोकतान्त्रिक विचारलाई जनतामाझ स्थापित गर्ने दिशामा सबैले योगदान दिनुपर्छ ।
गगन थापा पनि कांग्रेसका नेता हुनुहुन्छ । उहाँले पार्टीको आन्तरिक विवादलाई थप जटिल बनाउनेभन्दा संवाद र संगठनात्मक प्रक्रियालाई सहज बनाउने भूमिका खेल्नुपर्छ भन्ने मेरो मान्यता हो । अन्ततः कांग्रेस बलियो बन्ने आधार व्यक्ति विशेषको जित वा हार होइन, विधानको पालना, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको विश्वास हो ।


