कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा प्रारम्भ भएको छ । स्थानीय तहबाटै सरकारी सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको भूमी प्रशासन कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापनाले रास्कोट नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी भौगोलिक विकटता र यातायातको कठिनाइका कारण जग्गासम्बन्धी कामका लागि टाढाका कार्यालय धाउनुपर्ने नागरिकलाई यसबाट सहजता मिल्ने विश्वास गरिएको छ ।
रास्कोट नगरपालिका पछिल्लो समय स्थानीयस्तरबाटै सरकारी सेवा उपलब्ध गराउने प्रयासमा सक्रिय देखिएको छ । यसअघि नगरपालिकाले कर्णाली प्रदेशमै पहिलोपटक स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा ल्याएको थियो । उक्त सेवामार्फत व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) दर्तालगायतका काम स्थानीयस्तरबाटै गर्न सकिने व्यवस्था गरिएको थियो ।
त्यस्तै, २०८३ वैशाखमा रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि रास्कोट, सान्नीत्रिवेणी, पचालझरना र पलाता क्षेत्रका नागरिकलाई नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सहज भएको थियो । यसअघि यस्ता सेवा लिन सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता र खर्चिलो यात्राका कारण नागरिकले सास्ती खेप्दै आएका थिए ।
संघीय शासन व्यवस्थाको मुख्य उद्देश्य राज्यबाट प्रदान गरिने सेवा नागरिकको नजिक पुर्याउन सहज भएको नगर प्रमुख धर्मराज शाहीले बताए । उनले भौगोलिक विकटता, कमजोर यातायात पहुँच र कार्यालयको दूरीका कारण कर्णालीका दुर्गम क्षेत्रका नागरिकले अझै पनि आधारभूत प्रशासनिक सेवा लिन कठिनाइ भोगिरहेको अवस्था नगरपालिका भित्र सेवा पाउनु नागरिकका लागि राहत भएको बताए ।
यस्तो अवस्थामा रास्कोटमा मालपोत तथा नापी सेवा विस्तार हुनु स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । सेवा नियमित, व्यवस्थित र आवश्यक जनशक्ति तथा प्रविधिसहित सञ्चालन हुन सके जग्गासम्बन्धी काममा नागरिकको समय, श्रम र खर्च बचत हुने अपेक्षा गर्न सकिन्छ ।
रास्कोट नगरपालिकाले करदाता सेवा, इलाका प्रशासन सेवा र अहिले भूमि प्रशासनसम्बन्धी सेवाको विस्तारमार्फत स्थानीय तहलाई नागरिकको सहज पहुँचमा पुर्याउने प्रयासलाई निरन्तरता दिएको छ ।


