सुर्खेत । विजयादशमी तथा दीपावलीको अवसरमा कालीकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खसी र खेलकुद सामग्री उपहार प्रदान गरिएको छ । चाडपर्वका बेला कारागारमा रहेका कैदीबन्दीलाई खुसी बाँड्ने र उनीहरुमा सकारात्मक भावना विकास गर्नका लागि जिल्लाको महावै गाउँपालिकाले खसी र खेलकुद सामग्री उपहार दिएको हो ।
विजयादशमी तथा दीपावलीको अवसरमा कारागारमा रहेका कैदीबन्दीलाई खसी र खेलकुद सामग्री हस्तान्तरण गरिएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आपसी भाइचाराको अवसर भएकाले कारागारमा रहेकालाई चाडपर्वको अनुभूति गराउने उद्देश्यले उपहार दिइएको बताए ।
कारागारमा रहेका कैदीबन्दीलाई चाडपर्वका बेला आवश्यक सहयोग तथा खेलकुद सामग्री उपलब्ध गराउँदा उनीहरूको मनोबल बढ्नुका साथै आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने अध्यक्ष सिंहले जानकारी दिए ।
‘समाजमा विभिन्न कारणले कानुनी प्रक्रियामा परेर कारागारमा रहेका व्यक्तिहरुलाई पनि मानवीय दृष्टिकोणबाट हेर्नुपर्ने सन्देश दिएको छ,’ उनले भने, ‘चाडपर्वका बेला गरिने यस्ता सहयोगले कैदीबन्दीमा एक्लोपनको अनुभूति कम गर्न र समाजप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्छ ।’
जिल्ला कारागार कालीकोटमा ४९ जना कैदीबन्दी रहेको जिल्ला कारागार कालीकोटले जनाएको छ । जसमध्ये पाँच जना महिला ४४ जना पुरुष रहेका छन् ।


